लघुकथा
बेमेल
-
भरतमणि
भट्टराई
भैरहवाको
कोटिहवामा लखन किसान गरी जीवन चलाएका थिए । कामको सहयोग पाइने आशामा छोरा कर्सुको
बिहे गरिदिने सोचेर चारैतिर कुरा फिँजाए । नजिकैका मानिसले आफन्तकी चेलीकोमा
कर्सुलाई केटी हेर्न लगे तर कर्सुलाई बिहे गर्ने कुनै रहर थिएन किनकि ऊ बल्ल १६ वर्षको
मात्र थियो । नमान्दा नमान्दै पनि अनेक कुरा गरेर उसको बिहे १२ वर्षकी नमशासँग हुन
गयो । उमेर सानो भएकाले नमशाले घर समाल्न नसकेर माइत नै बसी । कर्सु साधारण स्कुलबाट
एसएलसी गरेर विकट ठाउँमा जागिरका निम्ति भौतारियो । अध्ययनशील र मेहनती हुँदाहुँदै
पनि कर्सुले पढ्ने अवसर पाएन । सानो जागिरको भरमा पारिवारिक डुङ्गालाई सफलतापूर्वक
अवतरण गराउँदै कर्सुले डिग्री हासिल गर्यो ।
घरको
कामका कारण नमशालाई पहिले नै ल्याइएको थियो । ऊ ज्यादै घमण्डी र माइतीको बखान गरी कसैलाई
नटेर्ने स्वभाव भएकी चर्की थिई । दिनहुँजसो उसकै कारण झगडा हुने गर्दथ्यो ।
कर्सुको जागिर निकै टाढाको भएकाले महिनामा एक पटक घर आउँदा नमशाका कुराले दिक्क
बनाउँथ्यो । छोराछोरी पनि भएपछि विछोडको सम्भावना पनि कर्सुलाई टरेर गयो ।
पारिवारिक बेमेलका कारण घरबाट केही नलिई बाहिरिन परेकोमा ऊ ज्यादै दु:खी थियो ।
जन्मस्थलो छाडेर सानो झुपडी बनाई निक्कै परको गाउँमा बस्न गयो कर्सु । परिवारको
हेला भएपछि आफन्तजनको पनि हेयको पात्र बन्न पुग्यो ।
नमशाको
अण्डरमा रहनुपर्ने र उसैको निर्देशनमा चल्नुपर्ने भएकोले उसले कमाएको सबै फजुलमा
सिद्धिन्थ्यो । घरमा कहिल्यै शान्ति थिएन । जति बेला पनि कर्सुलाई टोकिरहने भएकाले
उसको दिमागले जीवन परित्याग गर्ने उपायको खोजी गर्दथ्यो । बाहिरफेर ऊ ज्यादै गनिए पनि
घरको कष्टकर अवस्थामा जकडिनुपर्दा उसलाई हुनसम्मको सकस भएको थियो ।
नमशाको
अत्याचार सहन नसकी कर्सु एक दिन घरबाट निस्केर बाहिरियो । ऊ नभएपछि खुसी भएकी नमशा
चैन गरेर सबै सम्पति उडाई । सबै सकिएपछि उसले ज्यादै दु:ख पाई । छोराछोरीले पनि
हेरेनन् उसलाई । कैयौं दिनसम्म खान नपाएकी नमशा सडकको चिसोले मरी । दुष्ट पत्नीका
कारण अति सुन्दर मानव जीवन दुर्घटित हुन सक्छ भन्ने कुराको पुष्ट्याइँ यस दुखद्
परिणामले देखाएको छ ।
पोखरा-१०, मिलनटोल, कास्की
bharatmanibhattarai123@gmail.com
No comments:
Post a Comment