bharatmani bhattarai

नयाँ सामग्री



आमाको मुखहेर्ने दिन लेख

March 14, 2026 0


 

            आमाको मुखहेर्ने दिन

                                                                                                                                 २६ वैशाख २०८१

संसारमा जीवहरुको पुस्तान्तरण गराई सबै जीवहरूको अस्तित्व स्थापित गराउनमा जननीको भूमिका नै सर्वमान्य हुन्छ अर्थात आमा बिनाको सन्तान सम्भब नै हुदैन । हरेक प्राणीहरूकी जननी स्नेही ममतामयी प्राणदाता अझै भनौ देवता नै हुन भन्दा फरक नपर्ला । आप्नो कोखमा राखेर खुनको डल्लोलाई सक्षम र सवल स्थितिमा अवतरण गराई आकर्षक जीवन दिन सक्षम माता सक्षात भगवानकी पर्तिरुप अझै स्पष्ट भन्दा आमा सर्वमान्य साक्षात भगवान नै हुन् । बाबाआमा बिनाको संसारको कुनै सार हुदैन । त्यसमा पनि मानव चेतनशील प्राणी भएकाले वास्तविकता पहिल्याएर पबित्र मार्गमा चल्न सक्ने र देवत्वको सार छुट्याउन सक्ने विवेकशील प्राणीका रुपमा रहनुपर्छ । आफू को हुँ र कसरी संसार चलेको छ ? बिगत समयदेखि आजसम्म आइपुग्दा सन्ततिको पुस्तान्तरण र मानवीय जीवनको अस्तित्वको स्थापितिकरण कसरी सम्वभ भैरहेकोछ भन्ने जिज्ञाशाहरु मेटाउन खोज्दा जननीको स्मरण अवश्य हुन्छ । तिनै सन्तानकी माता ममताकी खानी सर्वश्रेष्ठदेवी आमालाई संमरण गर्ने दिनका रुपमा मातातिर्थ औंसीलाई लिने प्रचलन छ । धर्मशास्त्रले पनि मातालाई देवीका रुपमा लिइएको छ । आमाको सन्ततिप्रतिको लगान र स्नेहको मूल्य नै हुदैन । त्यस्ति सन्तानबत्सल सृष्टिकर्ता ममतामयी आमालाई सधैं शाष्टाङ्गदण्डवतका साथ उच्चारण गरिरहौं मातृदेवो भवः ।

बैशाख कृष्ण औंसीका दिन सुकाइएको अन्नमा किराले नोक्सान गर्न नसकेझैं यस दिन आमालाई खुशी पार्न सके सन्तान र आमा बिचको सम्वन्धमा कुनै दरार नआउने कुरा शास्त्रमा उल्लेखित छ । देवलोक पितृलोक र धर्तीलोक सबै स्थानमा आमाको स्थान अति महत्वका साथ लिने गरिएकाले आमालाई पुज्नु मानव समुदायकै मूल कर्तब्य ठहर्दछ । अतः आमा हुनेहरुले आमालाई मनपर्ने कुराहरु दिएर खुशी बनाऊँ र नहुनेहरुले गरीव तथा असहाय दुखीहरुलाई सहयोग गरेर आफ्नी जननीको स्मरण गरौं । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी श्लोकलाई मनन् गरौं । यसैमा साक्षात रहेकी आमा र अनन्तमा रहेकी पुज्यनीय माता खुशी हुनेछिन् र आशिर्वाद मिल्नेछ ।

संस्कृतका यी महत्वपूर्ण श्लोकहरूले आमाको महिमालाई अझ स्पष्ट पारिदिएका छन् ।

कुपुत्रोजायते क्वचिदपि कुमाता नभवति । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।

त्यसैले आमालाई खुशी र सुखी बनाएर जीवनलाई आकर्षक बनाऊँ तबमात्र मातातिर्थ औंसीको औचित्य र मर्म स्यष्ट हुन जान्छ । बाचुञ्जेल आमालाई अनेक प्रकारका दुखको भूमरीमा बाच्न बिवश पार्ने र आफ्नो स्वार्थका पछि दौडने आमाको निधनपछि मन्दिरमा लड्डु चढाएर पुन्य कदापि मिल्दैन । देखावटी र बनावटी कीर्ते मानव बन्न छाडेर सचरित्रवान कर्तब्यनिष्ट बफादार नागरिकको पङ्तिमा सयर गरौं । यसैमा सबैको कल्याण हुनेछ । विहान उठ्ने बित्तिकै मातृदेवो भवः पितृदेवो भवः र आचार्य देवो भवः उच्चारणका साथ आफ्ना कर्महरुलाई अग्रता दिऊँ अवश्यमेव फलदायी हुनेछ । मातृदेवो भवः सबै आमाहरुको जय होस् शुभकामना यस पावन अवसरमा ।

 

Read More

फर्की आऊ सजाउन कविता

March 07, 2026 0


 

   फर्क आऊ सजाउन

 

पैलै धरती टेकेको बिर्सिदैन कदाचित

पवित्र देन ईशको मित्रता जननीसित

प्राण वायु जलथल त्यसैका बीचमा रही

वाल्यकाल बितेको हो त्यसैको रसमा भिजी

 

सँगीसखा रमाएको वनपाखा गाउँबेशी

पढ्नलेख्न सिकाएको स्कुल मात्र समाबेसी

गाईवस्तु घासपात जङ्गल दाउरा लिन

जानुपर्ने मेलापात गोठालो बिदाका दिन

 

काफल कटुस् ऐसेलु आँप तिजु बेलाउती

धोबिनी चपाएपछि जिब्रो रक्ततुल्य परिणति

खनायो र बनतरी गोलकाक्रो बन्का फल

अमला खाएपछि हुन्थ्यो स्वादिष्ट मूलको जल

 

केरा नास्पति मेवा कटहर् नै मिठो अति

लिचि सुन्तला मौसम खान मिल्थ्यो भनेजति

आफ्नोमा नभए पनि बाँडेरै दिने र लिने

 

 

 

औधी राम्रो सौहार्दता कसैगरी नबिर्सने

 

सुबास्नाले भरिएर खाना बन्छ पौरखको

कति मीठो मित्रता त्यो एश्वर्यपूर्ण गौरबको

ढिडो रोटी दाल चट्नी थोरै भात ओलन्सित

मासु लट्टे खिर रोटी पाक्ने गर्थ्यो सबैतिर

 

नयाँ लुगा फेर्ने मौका चाड डुलो दशै हुन्थ्यो

आशिष् टीका जमराले ह्रृदयको चुली छुन्थ्यो

रीसराग क्लेश द्वेश फाली मन शुद्ध गर्दै

जोआउँछन् सबै आफ्ना मान्ने पर्व खुशी भर्दै

 

मासिक् पर्व मिष्टान्नको  नपर्ने  मैनै हुदैन

पवित्रता द्रभिभूत् हुन्थ्यो दुख्खले छुदैछुदैन

आफ्नो गुमाएरै सेवा मन् जाग्दथ्यो उन्नतिमा

बग्थ्यो अमूल्य पसिना सब् लाग्दथ्यो सन्ततिमा

 

आज जे जति छ सबै यसैको पवित्र दान

उपार्जन जे जति भो ती उच्च अमूल्य ज्ञान

पाइन्न यस्तो देवता पाउन पो को सक्दछ

फर्क आऊ सजाउन पवित्र भूमि बन्दछ

 

रोएकी छन्आमा नित्य घरनै अँध्यारो भयो

जति आर्जन गरे पनि अज्ञानी कुपुत्र भयो

सृष्टिकर्ता ईशमाता भुल्न पो कसरी सक्यौ ?

अर्काको पाउको धुलो शीरमा कसरी लग्यौ ?

फर्काऊ सन्ततिलाई नबेच्नु है स्वभिमान

धर्म कर्म रीति स्थिति बहुमूल्य आत्मज्ञान

पुर्खाको हुन् आफ्नो को हो? मनैलेगुन्नुपर्दछ

आदिदेखि अन्य ज्ञान जन्जन्ले पढ्नुपर्दछ

 


पाइदैन अन्त कतै अलौकिक प्रतिष्ठा नै


धन मात्र ठूलो ठानी बेच्न हुन्न इमान नै

धनदौलत् गगन्चुम्बी ह्रृदय चिन्दैन कोही

राष्ट्रियताको मुल्मर्म विवेक जान्दैन कोही

 

उमेरमा कमाउन हुन्छ जता जान पनि

राम्रै हुन्छ धनार्जन विध्यार्जन गर्दा पनि

कसै बस्न हुदैन कोही अस्तित्व मेटिने गरी

आऊ सजाऊ मायाले भूस्वर्ग चिनिने गरी

 

 

 

 

 

 

 

 

  

Read More

दौरान लेख

March 07, 2026 0

 


                            दौरान

सोचे जस्तो भोग्न पाइने हुदैन र देखेजति आफ्नो बनाउन सकिदैन । प्रयत्न र लगानले थकान नहुञजे कर्ममा जुट्दै जाँदा पनि सधैँ लक्ष्यमा पुग्न सकिन्छ भन्ने हुदैन । सहारा बिहीन झुपडीबाट निस्केको पालुवाले पनि अलौकिकताको अनुभूतिमा पौडन सक्ने र सर्वसम्पन्न शक्तिको दलदलले पोषिएकाहरूको उपजले पनि अर्काको आश र अडेसाको लागि र्‍याल बगाउनु पर्ने हुदोरहेछ । मनमा इच्छा हुदैमा कसैको शुभेक्षा प्राप्त हुन्छभन्न सकिदैन । कसैको कामनाले सामना ल्याउला भन्नु आकासको फल ओखलमा फल भने जस्तै हुन्छ । आवश्यकताको बढोत्तरीसँगै कर्मको ज्यादताको बूध्दिमा बर्षा गरियो भने अर्काको प्रगतिमा डुबेर निधारमा गाँठा बढाउनु बाहेक अरू हात लाग्दैन । त्यही चेत सुल्झिएकोले होला आज तछाडमछाडको मेराथुनको दौडमा कौडाका लागि कुदिरहेछन् । जता फर्को उतै तमासाको लर्को  कोही कसैलाई फुर्सद नै छैन । दौरानमा कुरानदेखि पुरानसम्म र बाइबलदेखि जाइफलसम्मका बिधिविधान प्रयोग गर्न कर्मेन्दीयदेखि जनेन्द्रीयसम्मको बुता लगाइन्छ तर अलिकति दुखाइले अरूको समस्याको दुहाइ हुन्छभने पनि टसको मस सर्न खोज्दै खोज्दैन । मुस्किलले गर्नै पर्ने भयो यदिभने गुनिया र बुनियाले जेलिएको हुनैपर्छ । यो बिचित्रताको पैरन वैघातको हैरन बुझेर पनि बुझिनसक्नु छ दुनिया ।

"डडेको मुखलाई झिंनुवाको भात" सबै हाकिम अझै भनौं महा हाकिम । खानलाई पिठोले हैन मिठोले ग्वाम्म पारेर गजढ्याम्म पर्दै जुँगा मुसार्न पर्ने पानी आन्देलाई पनि । जो अपाङ्ग छ उसलाई सपाङ्को पगरीले तगारो सिगार्नु पर्ने । हेर्ने चक्षु नभएर लेख्नै नसक्नेलाई नाट्य श्रृङ्खलाको निर्णायक भई पदासिन हुनुपर्ने । "जो चोर छ उसैको ठूलो स्वर" फुत्लोभाँङ गिदी नभएको रात परेपछि भित्तो समाउने रित्तोलाई घुम्ने मेचमा बिराज गराउने चलन यहीँका बडे महलका ओजिला पलङमा सहेल गर्ने अहंकारीहरूले बसालेका हुन् । नक्कली बाणको लेघ्रा पसारी राँडीका तिघ्रा चिमोट्न पल्केका कान्लामुनिका कनसुत्लाहरू न्याय दिने बडाधिश भई खडा हुन्छन् । बोलीमा गोली लागेको बिचरो मुन्द्रे बडो लायक भनाउदो गायक बनेको छ । पढ्दै नपढेको बुङ्गो सडेको लवेदारको पहिरनले सुवेदार बनेको छ । छन्दको गन्ध थाह नपाउने र साहित्यिक पहिचानबाट बन्द भएको सुइखुट्उटे उत्कृष्ट छवि भएको  महाकवि अनि सामान्य अक्षर नजानी अहङ्कारको फेता गुतेको कालु असली नेताभध्येकै ठालु । भक्भकाएर लप्कपाउनेहरू समाज सजगाउने शिक्षक, टाउकाको अप्रेशन नाइटोमा गर्न पछि नपर्ने सर्जनको फुइ गर्दै धन कुम्ल्यार मन भर्ने डाक्टर, विवेक नभई निबेक गर्न नसकेका खाइपल्केका काइतेहरू कुलीन मन्त्री । छोरा चोरको खन्ती छोरी छाडा बगानकी रानी भन्थी, श्रीमती मच्चाउथी रडाको, सधै बचन आउथ्यो कडाको, हैरन खप्न नसकेका सक्कली पहिरनका सही आशन जमाउन नसकेका उनै प्रशासक । के के हो के के बुझ्नलाई त बेलैमा सत्बुद्धदि घुस्न पर्ने रहेछ । त्यसैले आज लाटीले केरा हेरेझैं हेर्न र नालुदेखिको बल तालुसम्म निकाली घमासानका साथ समाधानमा लाग्न नसकिएको पो हो कि ?

"घरभरि कपडा बीरे छोरो नाङ्गो" भनेर उखानको जोखाना हेर्नेहरू नभएका पनि होइनन् तर पाखुराको पसिनाले असिना पञ्छाएर जमाइएको मसिनो जतन गर्न नजानेपछि दुःखको भुमरीमा रुमलिनु पर्नेरहेछ । हिजो देखेको सही हुन्थ्यो सुनेको उही हुन्थ्यो, सुवाक्य सबैलाई मान्य हुन्थ्यो, मियोको आधारमाभाइ मिली दाँइ हुन्थ्थो तब पो खलामा तला हल्लने गरी धान पस्थ्यो, परचक्री नरभग्क्षी भएर त्रासले कालीको बास बनाउन पाउँदैनथ्यो । मामका लागि कामको बाँडफाँड, सिकारुलाई ज्ञान, बडालाई मानसम्मान, शरीर शुध्दिलाई ध्यान जस्ता नैतिकताले पैत्रिकताको हस्तान्तरण भई कमानले लगाम कस्दथ्यो र पो घैटामा घाम लाग्थ्यो तर यथार्थ साँचो भएन, औँला बङ्ग्यार भए पनि खाँचो कहिल्यै भएन, कमाउने रमाउने र जमाउनेहरुका मगजमा समता र समानताको पञ्चमृत पर्न गएन । तब कसरी हट्छ कालो, आकाशमा फैलिएको दुषित तुवालो । बाह्र वर्षपछि खोला पनि ठेगान लाग्छ तर दिन कहिले बदलिन्छ र पुनः आउँछ कालीका अँध्यारोमा बाँचेकाहरु माली बन्ने सक्ने दिन । मनमा धमिलिएको कान्तिलाई सङ्ल्याउन सक्ला खै शान्तिले कि सपार्ला खै क्रान्तिले । परिवर्तनको ल्याउछ भन्न रुचाउछन् मान्छहरु क्रान्तिले । कहिले पाउलान रमाउन अनि अस्तित्वलाई जगाउन, प्रकृतिको उपहारलाई उपभोग गर्दै बाँच्न र पेटभरि हाँस्न पाइनेहोला शान्तिले । खोजेर नपाइने, देखेर सुनेको सत्य नहुने, सिप र ज्ञान भएर पनि नजानेको बन्दिनुपर्ने, दुखेर पनि सहनै पर्ने, सत्मार्गमा रहदा अपमानित हुनुपर्ने कति अँध्यारो भएको होला । हर्केका छोराहरु रमाउदै जमाउन फर्के, अनि मुनाका छोरीहरु चेतनाका नमुना भएर निस्के भनेर चमेली, पुतली माने र साने साँझको माझमा खुशी भैरहेका देख्दा आश गर्दा बगरको बास नहोला कि झै लागेर आयो । सिलो खोजेर बिलो पाए सरह आहातमा राहतको अनुभूतिको पर्खाइमा जमेर रम्ने आशा पलाएको हो कि झैं लाग्यो । बादलले ल्याएको अँध्यारो घामका किरणले उघारो भनेर पहार तापेर आहार ग्रहण गर्न सबै आतुर किन नहुन र ? आश गर्नु भर नपर्नु भन्छन् खडेरीमा भ्याकुता कराएको सुन्न र बदल नलागी पानी परेको हेर्न नसके जस्तै पो हुने हो कि ? जेहोस् फाटेको फरिया काटेर भए पनि आमाले च्याण्टेको नाङगो प्याण्टो छोप्न अवश्य पाउँछिन् । त्यस कुरामा छुरा उद्याइ कुरा बङ्ग्याइरहनु पर्ला जस्तो लाग्दैन ।

 

 

०७ फाल्गुण २०८२

मिलनटोल पोखरा ।

 

 

Read More

देखियो पर्दा भित्रको रहस्य लेख

March 04, 2026 0

                                     

             देखियो पर्दाभित्रको रहस्य

मान्छे यतिसम्म उन्मात्त हुन्छ भनेर कसरी भन्ने ? देखाउने र लुकाउँने अनुहार फरक हुदोरहेछ । आफूलाई सर्वहाराको नेता भन्नेहरू अकुत सम्मपति थुपारेर बाहिर केही नभएको नाटक मञ्चन गर्दारहेछ । कहासम्मको नक्कली पन अनि कतिसम्म ढाँट्न र छल्नसकेको होला । समाजवादको खोल ओडेर कुबेरको भण्डार बनाउन कसरी भ्याएको होला । त्यस्ताको पछि लागेर हिढ्नेहरू पनि किन लगौटीभित्र छिर्न परेको होला । पैसा तथा बहुमूल्य रत्नहरू राख्नका लागि सुरक्षित बैंक तथा बित्तीय सैस्थाहरू पनि त थिए जति पनि । खान र लाउन नपाउनेहरुका ब्वाँसारुपी नेताहरूको मन किन त्यति साह्रो पत्थर बन्न सकेको होला । कतिसम्म लोभले ढाक्दो रहेछ बेला आएपछि पो थाह लाग्ने रहेछ । मर्न पर्छ सबैलाई थाह छ तापनि किन थुपारेको अर्काको रगत र पसिनाबाट चुसिएको धन ? जनतालाई आँखा नदेख्ने र कान नसुन्ने बनाएर आफ्नै आशेपासेहरूलाई वरिपरि राखेर केही भजन मण्डलीहरूको आडमा यस किसिमको रजाइँ के का लागि ? बुझि नसक्नु नै हुदो रहेछ ।

कसैले नदेखे पनि भगवानले देख्छन गल्ति र असभ्य ब्यवहार देखाउन हुदैन भन्ने उखान त्यसै भनिएको रहेनछ । समाजका मानिसहरू केही न केही थाह पाउन सक्ने रहेछन् भन्ने किसिमको हेक्का साहेद पछि मात्र याद भयोहोला । बेला बितिसकेपछिको समाधानले कुनै अर्थ राख्दैन । सधैं बादल लाग्दैन र सधैं रात पनि पर्दैन । रात सकिएपछि दिन आउने कुरा निश्चित नै छ तर मान्छेले त्यो कुरा अपराध गर्ने बेलामा सोच्न सकेन । आपराधिक मानसिकतामा बाचेको मान्छेलाई सत्यता र मानवताको कसरी हेक्का हुनु । त्यसैको परिणाम नै हो ०८२ भाद्र २३ र २४ को । ससाना युवा तथा वालकहरूको उर्लदो आवाजले ताना शाहहरू पाखा लागे र भागाभाग म्याराथुन नै चल्यो । उत्तेजित भिडमा अतिरञ्जनकारीहरू पसी धेरै धनजनको नाश भयो । कुबेरको ढुकुटी बनाउनेहरू पनि रोडमा आउँन बाध्य भए । हिजो आफूलाई संभ्रान्त र उच्च पदाशिन अलौकिक मानवका रुपमा परिचित महामहिमहरु पनि आज बेपत्ता हुनु परिरहेको छ । बोलेर नै नथाक्ने अर्कालाई भुसुनो सरह राखी अपराधमा सम्लग्न भैं पशुपतिको साँढे झैं डुक्रने हनुमानहरू कुन दुलोमा पसेका छन् पत्तो नै छैन । उनीहरूका आवास तथा महलहरू खरानीमा परिणत भएका छन् । हुँदा खानेहरू खरानीमा खोज गरिरहेछन् केही पाउनका लागि । केही बहुमूल्य सुन तथन नगदका बिटहरू खोजिरहेछन् । लुकाएर राखिएका बिटका बिटा नगदहरू अधिकांश डडेको अबस्थामा भेटिए । कतै शेफ नै पहिलियो भने कतै सुनका लाप्सहरू पनि थाह लाग्यो । खरानी चाल्नेहरू हप्ता दिनसम्म पनि निरन्तर खटिरहेछन् सायद केही पाएर नै त होला ।

इतिहाशमा कतै नभएको नेपालमा भयो । पहिले सुन्दा सपना हो कि झैं भान हुने यस किसिमको घटनाले राज्यलाई समेत ठुलै असर पारिदियो तर ताना शाहहरूको भने होहश हवाशै उडाइदियो । चुपचाप रहे सबै । बरू ढुङ्गा बोल्ला तर ताना शाहहरूको गन्ध समेत पाउन सकिएन । छातीमाथि राखिएको ढुङ्गा निकाल्नका लागि गरिएको ससानो आवाजले त्यो तमाशा मच्चाइदियो जसले अन्यायीहरू कुलेलम नै ठोक्न पुगे । सत्ता नै फेरियो र केही गर्नमा आतुर जनताका नजिक भनिएहरू पदमा आशिन भए । केही नभए पनि परिवर्तनको झिनो आशमा बाच्नका लागि यस परिवेशले सहज बनायो । भवश्यमा के हुन्छ र के पाएएला भन्ने कुरा त पछिका दिनहरूले देखाइदेला तर आशाको त्यान्दो त सानो भए पनि मुना पलाए जस्तो देखियो । हिटलरहरूले पर्दा भित्रबाट मात्र चिहाउन सक्ने भए । जे अदृश्य थियो जसलाई कसैले नभेट्ने गरी दम्पच बनाइएको थियो र गुमरामा राखिएको थियो त्यो सबै देखियो पर्दाभित्रको लुकेको यथार्थता । हिजो बलजफ्ति पुजिएकाहरू आज कालोमुसो दलेर दयनीय बाँदर झैं पुलुपुलु हेर्न विवश छन् । सबैले अनुहारमा थुक्ने र अपमानजनक ब्यवहार देखाउँदासमेत कुनै प्तिकार गर्न सकिरहेका छेनन् ।

 

 

मिलनटोल पोखारा १०

४ आश्विन २०८२

 

 

Read More

तत्वज्ञान लेख

March 04, 2026 0

 

 

                           तत्वज्ञान

 


शाररिक शुध्दताले मानसिक सबलीकरणमा सहयोग गर्दछ । दृष्टिगत सफेदताभन्दा मनमस्तिष्क पवित्र हुन सके शान्तिको नजिक पुगिन्छ । बचन उपदेश र देखाइले मात्र शान्ति दिन सक्दैन । बास्तविकता र तत्वबोधको ज्ञानले ह्रृदयमा अमिट छाप नराखेसम्म सत्व चिन्न असम्भब प्रायः हुन्छ । शुन्यमा समाधिस्थ रही एकाग्रतामा लिन अभ्यास र कर्तव्य पथले सुमार्ग चयनपश्चात प्राप्त परिणतिले शक्ति आमन्त्रण हुन्छ । यसका निम्ति योग ध्यान र आत्म शुध्दिको अपरिहार्यता रहन्छ । धैर्य नविन सोच र जागरणले सामर्थ्यलाई उजागर गराउँछन् । लोभ इर्ष्या क्रोध र मायालाई आफ्नो बशमा राख्न नसक्दा शान्ति दूर हुन गएको वास्तविकता छर्लङ्ग भएको छ ।

विश्वमा अवतरित प्रायः सम्पूर्ण अबयवहरू अस्थायी नै हुन् । चीरस्थायी र अटलभोगी स्वप्नध्यान मात्र हो । सृष्टिले नै अन्त्यको विजारोपण गरिसकेको हुन्छ । बिगतदेखि वर्तमानसम्म बरिबहन चक्रले अनगिन्ति छलाङ दौडाइसक्यो । लेखाजोखाको सञ्चिति सायद प्रकृतिमा अदृश्य भै छिपेका भए मात्र अन्यथा अप्राप्य नै हुन्छ । दुःख पीडा हर्ष आश्चर्यता घमण्ड जस्ता संवेग क्षणिक प्रवाहित छनक मात्र हुन् । घटनाको पुञ्जबाट नै समय बिस्तारको समग्रता हो । जीव र जगतका आन्तरिक परिबहन धरा रहेसम्मका लागि महत्वलाई बोध गराउँछन् । अक्ष र कक्षको परिक्रमासँगै जीव तथा अन्य प्रादुर्भावी वस्तुहरूको उदय र बिलयको परिबहन रोकिदैन । अस्तित्व बोकेका सृष्टिगत धराका उपहारहरू चलाइ भोगाइ र आचरणबाट स्थायित्वको समुचित लम्वाइ किटानी गर्दछ । स्वतन्त्रताको महाअभियानका अनुयायी यात्रा परिभ्रमणलाई स्वकर्म पध्दतिले निर्देशित गरेको हुन्छ ।

सृष्टिपछिको बृध्दि र विकासले झ्यङ्गिने मौलाउने र पकड मजभूत गराउने जीव जगतको मूल मर्म नै हो । समयसापेक्ष परिबहनमा सयल गरी अन्तयमा बिसर्जनको स्थिति भोग्नु बिधिको बिधान नै हो । गुमेकोमा अट्टाहस पीडाबोध र प्राप्तिमा हर्ष उमङ्गमा अतिरञ्जित तरङ्गमा बेजोडको सुसेली खेल्नु त्यति उपयुक्त हुदैन । आत्माभन्दा परात्माप्रति समर्पित हुँदा शान्तिले स्वाश फेर्न सहज बनाउँछ । अपरिवर्ति अपरिमार्जित र अदृश्यमा घुसेको दायरालाई मिच्न र अपहेलना गर्ने सामर्थ्य कसैलाई छैन । वास्तविकताको बोध गर्दै कुशल आचरण र सत्मार्ग समाउन सफल हुन सक्नु महानता हो र यसले जीवन र जगतको वास्तविकताको बोध गराउँदछ । सुकर्म र योग साधनाका साथै ध्यानयुक्त अभ्यासले शान्ति दिने र शान्तिको प्राप्तिले सन्तुष्टि मिल्ने हुन्छ । यसलाई ह्रृदयङ्गम गरी परिवहन गर्न सिक्नु नै जीवन चक्रको मूल सार हो । अस्तु ।

 

२० फागुन २०८२

मिलनटोल पोखरा  ।

Read More

जित्नका लागि जीवन लेख

March 04, 2026 0

 



             जित्नका लगि जीवन

सबै जीवहरूका दैनिकी समयको परिबहनसँगै गुज्रिरकेकै हुन्छ । भूर्ण नवआगन्तुक जवान र बयष्क जोसुकैको पनि जीवन पद्दतिको गतिशीलता चल्ने गर्दछ । पालुवा चढेपश्चात झर्ने निमन्त्रणाको निधो बिधिले नै सुनिश्चित गरिदिएको छ । रोग तथा आकस्मिक घटनाले केहीको बीचमा नै बिलय हुने भए पनि औषतमा सबै अवस्थाको चरणबध्दता पार गरेर नै अस्ताउनुपर्ने जीव प्रणालीले देखाइसकेको छ । सबै विषयको रिस्ता खुलस्त भएता पनि केहीको जीवन परिबेशमा सहजता र केहीकोमा असहजता आउने गर्दछ । हुन त त्यसमा उसको कर्म क्षेत्रमा गरेको दिशाबोध र गन्तब्यको रोजाइजस्ता विषयले पनि शुष्म असर पारेको हुन सक्छ । चुनौती र निराकरणका लागि गरिने प्रयत्नबाट सहजता र असहजताका क्षेणहरूलाई सामना गर्नुपर्ने हुन्छ तर केहीका लागि सत्मार्गको खोजी गर्दै जाँदा र चुनौतीहरूलाई अवसरका रुपमा लिने क्रममा अग्रता दिदै गर्दा जीवन परिभ्रमणको अल्प समयावधिमा सन्तोषको स्वाश फेर्न अति नै कठिन परिरहेको हुन्छ । असजिला तथा अत्यन्त बिदारक अवस्था एकपछि अर्को लाम लागेर आउने गर्दछन् । केही नमिठो र बिरसिलो बनाउनमा उसैको बिपरित दिशाबोधले गराए पनि अरू सबै किन संयोगका रुपमा आएहोलान ? अलि बिचारणीय विषय बनेको देखिन्छ ।

आयआर्जन तथा धनी बन्ने सवालमा उसको पैत्रिक जिन्सी वा अन्य आयले असर पार्छ । तर सामान्य परिबेश वा अझैभन्दा सडकबाट उदाएकोले पनि अल्प समयमा नै कल्पनाभन्दा बाहिरको कुलीनताको पगरी गुतिरहेको देखिन्छ । त्यसको बिपरित जन्मदै कुबेर पछि हरहर भई रोडको बास भएको पनि देखिन्छ कसैको । केही मध्यम बर्गको परिबेशबाट परिवर्तन नै नदेखिई बिलयको सामना गर्दछन् । न्यून स्थिति भोगी काहाली लाग्दो भूमरीमा गुजुल्टिन बाध्य भएकाहरु अधिकांश दयनीय परिबेशको दलदलमा फसी बिलय हुन बिबश देखिन्छन् । कही भूर्ण अवस्थादेखि मृत्युको सँघारमा आइपुग्दासमेत सांसारिकताको थथार्थकाबारेमा अन्धो नै रही जीवनको वास्तविकतालाई चिन्न नै नसकी निभ्न पुग्छन् । एउटै गर्भमा विकसित भएका जोडीहरू उही विज समान वातावरण  र उही ताकतले पोषितमा पनि जीवन परिबेश पृथक रहन्छ । आखिर त्यसकिसिमको अन्तरमा प्रभाव बाह्य तथा आन्तरिक दुबै हुन सक्छन् । सफलताको बाटो समात्न खोज्दा र सकारात्मकताका साथ जीवन कलालाई साधना गरी सही शैलीमा अवतरण हुन खोज्दा असफल नै भोग्न पर्ने अच्चमको लीला देख्नुपर्छ र भोगिरहेको तीतो सत्य पनि हो जस्तो लाग्छ । त्यसमा प्राकृतिक भनौं वा अकल्पनीय संयोगले पनि भूमिका खेलेको होला सायद । तर कर्म क्षेत्रमा अबिचलित भै कर्तव्यको वागडोरलाई रोकिन दिनु सरासर भूल हुनेछ । जे छ सामूमा त्यसलाई भरपूर साधना गरी फ्रतिफलमा रमाउन सिक्नु नै जीवनको सार नै हो । अभाब र असमर्थतादेखि नडराई चुनौतीलाई अवसरमा लिदै जाँदा निरन्तरको साधनाले आशा लाग्दो जीवन उदाउन पुग्छ ।

बौध्दिकता तार्किकता र कलात्मक परिचालनले समेत स्थान जमाउन नसकी अमिल्दो र कुकर्ममा लागेर अति संवेदनशीलतामा रुमलिएको तन र बिरक्तिएको मन ह्रृदय बिदारक नै हुन्छ । कठोर परिस्थितिसँग जुध्दै अपार जीवनाई सुमग्नका साथ उत्तम धराबासी बन्न न्वारनदेखिको बल खर्चेर चुनौतीसँग भिड्न कदापि तर्सन हुदैन । जीवन जित्नका लागि हो सुअवसर लिई हाँस्नका लागि हो सम्पन्नताको शीखर चढ्नका लागि हो । क्षणिकको पाहुना भए पनि आशाहरूलाई पूरा गर्न तमाम समस्याहरूसँग मुकाबिला गर्दै क्रमबध्दरूपमा अस्तित्व उचा गराउनु मानवको प्रमुख दायित्व हो । समस्याले समाधानको निम्ता दिन्छ र समाधानपछि पुन समस्याले स्थान पाई थुप्रै समाधानका बिकल्पहरू आइरहन्छन् फलतः चुनौतीहरू अवसरमा परिणत हुन्छन् र जीवन समुन्नत र आकर्षक हुन जान्छ । प्रकृतिले दिइएको सुनौलो उपहारलाई सही र सार्थक मार्गमा लैजान हरप्रयतनमा लगाम कस्न बिर्सन हुदैन । मौकाले पाएको चौकालाई जीत्नका लागि उपगोग गर्दै आशाहरू तथा चुनौतीहरूलाई अवसरका रूपमा लिई समाधानमा लाग्न सके वास्तविक जीवन चरितार्थ हुन्छ र कर्मले स्थायित्व प्रदान गरी स्थुल बिलयपश्चा पनि कर्मले अमरत्व पाई धरामा सजिन पुग्छ । अतः जीत्नका लागि प्राप्त ऐश्वर्यरूपी तन र अवसरको पूर्ण उपगोगबाट तृप्ति पाउने मनलाई उच्च राख्न प्रयत्नमा लाग्नु सबैको मूल मार्ग नै होभन्दा अत्युक्ति नहोला ।

 

 

१४ फाल्गुण २०८२

मिलन टोल फोखरा ।

Read More

छुद्रता लेख

March 04, 2026 0

 


                    छुद्रता

मान्छे गुमाउन चाहदैन । उसलाई आवश्यकताभन्दा बढी सञ्चय गरी बिलासी बन्न मन लाग्छ । आफूसँग जे छ त्यो अर्काकोमा पाइयोभने पनि थुपार्नमा पासो लगाउँछ । नभएको कुरामा त झन चर्चा गर्नु नै परेन । बाहिर कतै कसैकोमा नजरले भेटेसम्मका वस्तुहरू आफ्नो बसमा सजाएर रमाउन मजा मान्छ मान्छे । त्यसका लागि ढाँट छल र अनाबश्यक कृतिमता बुनेर अन्यहरूका आँखामा छारो बर्साउन उद्दत रहन्छ । आफ्नो बुताले अप्राप्य वस्तुमा अझ गिध्देदृष्टि लगाउनु छुद्रताको मूल विशेषता नै मान्दा फरक पर्दैन । कोही कसैले अर्काको सहयोगका लागि अर्पण गरेको वस्तु वा जिन्सी वा नगद जे भए पनि आफ्नै खल्तीको खुस्काउन परेझैं गरी पीरले तोला मासु घटाइरहेको हुन्छ । त्यसमा पनि चुकनी झिक्नु आजको महामानवको मूल कर्म नै हो । सकेसम्म आफू अर्काले पसिना सिँचेको सञ्चितिबाट ऐश लिन खोज्नु र अर्कालाई दासको शीकार बनाई आफ्नो हैकम बलियो बनाउन चाहन्छ आजको मान्छे । अर्काकोमा अलिकति पनि राम्रो भएको देख्न नचाहनेले भलोको त कुरै नगर्दा हुने भयो । चामलमा बिँया खोजेझैँ उपकारी पाउनु मुस्किल हुन्छ । समाज उत्थान र परिवर्तन त अधोगतिमा लतारिन पुग्ने भएपश्चात आशा आकाशको जुन हुने नै भयो । लेखनाथ पौडेलको “मै खाउँ मै लाउँ” कविता झैँ ज्यादै लुब्धताको दलदलमा फँसेको छ मान्छे । हिजोदेखिको परम्परा बाजे बाबु र अहिले आफूसम्म आएपुग्दा पनि फेरिने कहिले ? फेरिनको लागि स्वच्छता र पवित्रता अनि सत्कर्म र स्वधर्ममा अडिग हुनु अनिवार्य हुन्छ । सेतोलाई रातो र कालोलाई सेतो भन्नका लागि त्याग र समर्पणको अपरिहार्यता हुन आउँछ । एकछिनका लागि छली मुकुण्डोको कुरबाट बाहिर ननिस्किएपछि सबैलाई कुहिराका काग बनाई दुबै हातमा लड्डू पार्न सकिने भयो । किन दहन नगर्नु गुलियो महमा अनि किन प्रभुल्लित नहुनु बिना परिश्रमको खावा खिर खान पाउँदा । रसस्वादन मूल धर्म नै हो कुण्ठित मानवको ।

आफ्नो हात माथि बनाउन नरुचाउनेहरू पाउनका लागि हात माथि गर्न डराउँछन् तर अनयास आफ्नो मूठ्ठीमा सानो वस्तु मिल्योभने ज्यान गए पनि अर्कालाई दिन सक्दैनन् चाहे त्यो वस्तु अर्काकै किन नहोस् । सही कुरालाई प्रमाण जुटाउँदा पनि विश्वाशको अभाव खड्कन गई असैह्य तापयुक्त ज्वालाको राफ सहनुपर्छ । शरीर मृत्युको दोसाँधबाट पार गराई आपतकालीन अवतरण गराइदिँदाको मूल्यको कुनै कदर गरिदैन । सहयोगीको त्याग र समर्पणको कुनै अर्थ नै राखिदैन । घटनास्लदेखि हस्पिटलसम्म र दिनहुँको सेवा र उपचारका क्रममा गरिएको दौडधुप त्यस्तै स्याहारसुसार र कैयौँ दिनका सास्ति एवम् तनावलाई रत्तिभर ख्यालै गरिदैन । तर कसैले त्यही शन्दर्भमा गरिएका चारओटा नोटको हिसाव गरेर सञ्चो भएपछि फसौट मागिन्छ । एकैछिन सट्टा सुसारे राखेर अपर्झट काममा सरिक हुनुपर्दा भएको डिस्चार्जबाट कुलेलम बजाउन पल्केका ब्वासारुपी दरिद्रहरूलाई कसरी चिन्न सकिन्छ र ! समय सधैँ एकैनास रहदैन । दिनपछिरात र रातपछि दिन आइनै रहन्छ । तर दरिद्रताले ग्रसित भएपछि मान्छे षड्न र दुर्गन्धित भै नाक नै ङ्याच्च बनाएर कहिल्यै नचाहिने गरी निधारसम्म तान्न अग्रता खोज्दै जादोरहेछ । नपरुञ्जेल पत्तो नपाए पनि दहमा डुब्न बाध्य भए पछि बल्ल असली छुद्रतालाई निचोर्न सकिदो रहेछ ।

“जुन थालमा खायो त्यही थालमा फोहोर्‍याउने” मति बिग्रेकाहरुले गति लिन सक्दैनन् । आफ्ना लागि ज्यान दिन पछि नपरेका पवित्र आत्माप्रति सदाशयतासम्म पनि राख्न नसक्ने बिलाहारी तक्षकहरू कि भक्षक भई परात्मा चिन्न नसकेर रमाएका होलान भन्ने कुरालाई सम्झदा अचम्म लाग्दछ । सहनु पनि त सीमा हुन्छ । भरिएपछि पोखिनु पर्ने यथार्थतालाई मान्छेहरू किन नबुझेर असत्यको बाटो गएहोलान भन्ने कुराले सताउने गर्छ तापनि कही कतै सुधारको स्थिति पाउन कसै सकिदैन । आफ्नोमा सानो खति भएकोमा मुर्छा खाएको मान्छे अर्काकोमा बज्रपात भएको बेलामा किन्चित दुःखको भाव देखाउनुको साटो उमङ्गको छालमा रमाएको देखिन्छ । घटना उही तर परिबेश फरकहँदा मान्छेका व्यवहारहरूमा समानता पाउन सकिदैन । जन्मदै नकारात्मकता लिएर त आएको होइन तर किन यस्तो छुद्रता रहन गयो उसको मानसिकतामा छक्क कसरी नपर्नु । यो र यस्ता आचरणको अग्रसरता भएबाट नै मानवीय चरित्रमा दाग लागी सभ्य भै सही धरातलमा उभिन कठिन भएको हो ।

लोभको भाडो कहिल्यै भरिन सक्दो रहेनछ । आफूसँग प्रसस्तै भएको सामान पनि सित्तैमा पाउदा सक्दो बोक्ने प्रबृति समाजमा छ्यालब्याल देखिन्छ । जुन वस्तु वा सामान आफ्नो जीवनका लागि उपयोगी छैन र पनि थुपारेर ढाँड बनाएर फोहर पालिराख्ने प्रायः सबैजसोकोमा देखिन्छ । घरमा अल्झन भएको तर अरूका लागि उपयोगी भए पनि दिन सक्दैन मान्छे । कोही कसैले नदेखेमा सबै आफ्नो बनाउनका लागि मरिहत्ते गर्दछ । छोरी बुहारी तथा चेलीहरूमा समानताको भाव राख्न नसकी पशुत्वभन्दा पनि तल्लो पङ्तिमा गिर्न डराउँदैन । उपकारको सट्टा खोजी अर्कालाई गोगनले झैँ डस्नपुग्छ । बोलाइ र गराइका बीच आकाश र जमिनको भिन्नता स्पष्ट देखिन्छ व्यवहारमा । जुन चिजले आफूलाई असर पुर्‍याउँछ तर त्यो चिज सित्तैमा मिलेको छ यदिभने घाँटीसम्म आउने गरी कोच्न पछि पर्दैन । आफ्नोमा कोही आउँदा १०४ डिग्रीको ज्वरोले टाउको दुखेर १० किलोको भुत्ते धङ्नोले नभ्याउने हुन्छ तर अर्काकोमा आफू पाहुना हुनपर्दा खावा खीर तथा मिष्ठान्नको अपेक्षा गरी भएभरको नालीबेलीमा गफ सिँगारिन्छ । अर्काको प्रगतिमा ओडाहले भुतुक्क हुने र आफ्नो बिगुल बज्दा अर्कोलाई थाहसम्म पनि नदिने छुद्रताले डेरा जमाउन छाड्दैन मान्छेलाई । यस किसिमको अनर्थ परिबेश र काइते छदमभेषी रनकले गर्दा व्यक्तिको आचरण बिग्न गई समाजले सही मार्ग पैल्याउन नसकेको हो । समाज सुन्दर नभएसम्म क्षेत्र र समग्र देश राम्रो बन्न सक्दैन । अतः सबैले नक्कली व्यवहारलाई त्यागी सक्कली सत्कर्ममा लागेर छुद्रता नराखी स्वावलम्वी बन्दै सेवात्मक भावले सकारात्मक शैलीमा अवतरण हुनु जरूरी छ र समग्रतामा उन्नतिको पथमा निरन्तर जुट्न मनैदेखि लाग्नु पर्दछ । अन्यथा विकास असम्भब हुन्छभन्दा फरक पर्दैन ।

१८ फागुन २०८२     मिलनटोल पोखरा ।

 

 

 

 

 

Read More

Post Top Ad

Responsive Ads Here