–भरतमणि भट्टराई
बास बस्नका निम्ति बनाइएको
बा, आमा, श्रीमती अनि छोराछोरीद्वारा सजाइएको
आर्जित वा पैतृक सम्पत्तिबाट बनाइएको
चिन्नका निमित्त मात्र नामकरण गरिएको
अन्त कतै जाँदा भन्न मिल्ने बनाइएको
सदाका लागि आश्रय ओत दिलाइएको
सबैको आधार थलो, परिचयसँग जोडिएको
अपरिहार्य स्थल बासस्थान हो घर ।
मान्छे घुमफिर गर्छ जागिरका निम्ति
कामका खोजीमा जान्छ परिवार पाल्नका निम्ति
अर्थोपार्जन गर्छ केवल सुख, शान्तिका निम्ति
देश विदेशमा भौतारिँदै जन्मभूमिमा फर्कन्छ
केवल आफूलाई समर्पण गर्छ घरका निम्ति ।
घर
घर, कस्तो अचम्मको आश्रयस्थल
रात, दिन, साँझ, बिहान सम्झिरहन्छु पलपल
जहाँ पुर्खाहरुले आफूलाई मेटाए,
जहाँ बाजेका सन्तानहरु फैलिए,
जहाँ आमा आँखा चिम्लेर
आफ्ना नानीहरुका दिनहरु
औंलामा गनिरहन्छिन् ।
जहाँ परिवारका सुखदुःखका कोसेलीहरु
एकआपसमा साटासाट भइरहन्छन् ।
पाकेको जिन्दगी बिताउने आनन्ददायी स्थल हो घर । ं
त्यसले दिन्छ सबैलाई दीर्घकालीन शीतल ।
दिनभरिको थकाइ, सास्ती र पीडालाई बिर्साइदिन्छ ।
आगन्तुक तथा शुभकार्यका निम्ति सहारा दिन्छ ।
पैतृक सम्पत्तिको पहिचान दिन्छ ।
जन्मदेखि नमरुञ्जेलसम्म
शान्तिसँग जिउन दिन्छ ।
जिन्दगी सफल बनाउनका निम्ति
सधैं मातृभूमिले कल्याण गर्छ ।
आपत् र कष्ट पर्ने बेला
घरले सबलाई आश्रय दिन्छ ।
संरक्षण गरौं आफ्नो घरको सधैं
चिन्ता र त्रासलाई बिर्साइदिन्छ ।
भत्केला वैरीको आक्रमणबाट कतै
कालो बादल आकाशमा मडारिन सक्छ ।
सबै मातृत्वप्रेमी देशभक्तहरु ज्ुाटे
सार्वभौमिकता र राष्ट्रियताको रक्षा
कसिला बाहुबाट हुन्छ ।
सहन्नौं कदापि दुश्मनको हेला,
पस्केको भात छाडी
आफन्तको लास छाडी
आमालाई बचाउन, उनैलाई सजाउन निस्कौं
रगतको आहुति दिन किन नपरोस्
देह बली चढाऔं देशले मागेको बेला ।
घर सम्हालौँ
अर्थात्
देश बचाऔँ ।
प्रधानाध्यापक, श्री रामकोट माध्यमिक विद्यालय
रुपा– ७, कास्की ।
No comments:
Post a Comment