भरतमणि भट्टराई
भ्ूागोल र अवस्थिति अनुसार हावापानी फरक रही आएकाले मानिसमा रुपरङ्गमा केही फरक देखिएता पनि विकासात्मक कार्यमा सबैको एकमत रहेको हुन्छ । फरक यतिमात्र हो कि आवश्यकताका क्षेत्र कुन रोज्ने ? कुन ठाउँको महत्व प्रमुख विषय बन्छ ?उपभोग्य बस्तुको पर्याप्तता, वातावरण, खाँचो, चाहना, लगानी क्षमता, उत्पादन, बिक्रीबितरण आदि जस्ता विषयले विकासको क्रमलाई असर पारिरहेको हुन्छ । विकासका निम्ति हरेक मानिस आआफ्नो ठाउँबाट जुटिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य, सुरक्षाको प्रत्याभूति गर्दै गास, बास र कपासको स्थितिलाई मजभूत गरी आफ्नो स्तर दरिलो र उच्च बनाउनमा मानिस हरक्षेण लागिरहेकै हुन्छ । फरक त्यति देखिएको छ कि मान्छे बढी ब्यक्तिबादी बनेको छ । कसैले पनि ‘हाम्रो’ नभनेर ‘मेरो’ भन्न रुचाउने गरेको देखिन्छ । जता र जहाँ पनि ‘मेरो , मेरा र म’ ले ढपक्क ढाकेको परिदृष्य बर्तमान समयमा देख्न सकिन्छ । उसले कमायो, मेरो भएन , म ठूलो , मेरो शान ठूलो, जस्ता कुराहरु हाबी हुनपुग्दा ब्यक्ति मात्र मोटाउने , एकल बृद्धि र विकास हुने , उपभोगको खाडल धेरै फराकिलो भई मानिस मानिसकै दास बन्नुपर्ने बाध्यतात्मक स्थिति आउदो रहेछ । एउटै समाजमा रहेका अझ भनौं एउटै आमाका सन्तान एउटा संपन्न र अर्को बिपन्न अर्थात एउटाले अर्कोलाई कजाएर खाइरहेको यही समाजमा देख्न सकिन्छ ।
मान्छे मर्नुपर्छ, जीवन अल्पायु छ, क्षणिक समयका लागि पाहुना हुन आएको हो जस्ता कुराहरु सोच्दै नसोची एक तमासले ‘म र मेरा’े मा कुदिरहेछ मान्छे । संसारमा धनी मान्छेहरु जति छन् , ती पनि त एकदिन अवस्य जानु नै पर्छ । फेरि जति धनी भए पनि आखिर खाने त एक पेट नै हो । धन बढी भएकाले उपभोग्य बस्तुको दहन बढी नै गर्लान् । तर रोगले अल्पायुमा मर्न पर्ने परिस्थिति आइरहेको परिवेश बिद्यमान छ । लोभले लाभ , लाभले बिलाप भने झैं शोकै शोकमा बाँच्नु परेको यथार्थता मानिसले बुझेको हुदैन । मान्छे चितामा जान पुगी सक्दा समेत गाईले मकै खायो ? यो बिग्रियो ? त्यो भत्कियो ? जस्ता सबालहरु उठाई रहन्छ ।अर्को जेसुकै होस् आफू बन्नै पर्ने, जेसुकै वा जस्तोसुकै कर्म गरेर भए पनि धन कमाउनै पर्ने मान्छेको मन अचम्मको हुदोरहेछ । आफ्नो शरीरको घाउ र अर्काको शरीरको घाउ बराबर देख्न किन नसकेको होला मान्छेले ? मरेपछि चाहिने त केवल साढे तीन हात जमिन त हो । कैयौ बिघा वा रोपनी जग्गा थुपारेर अर्कालाई दसाई श्रमको अबमूल्यन गर्दा के रमाइलो हाला खै ? एक छाक खान नपाएर पुषको जाडोमा मक्किएको पुरानो पातलो धुजा कपडाको भरमा माग्दै हिडेको भिखारी माथि ती मानिसको दया किन आउदैन ? बरु बिहान बेलुका गुजारा चलाउन मुस्किल हुनेले गरिबमाथि दया देखाएको देखिन्छ ,तर सक्ने ब्यक्तिहरुको मन पत्थर भन्दा कडा भएको देखिन्छ ।
पृथ्वीमा सत्य, त्रेता ,द्ध्वापर र कली चार युग चलिरहेको मानिन्छ । पुस्ताका हिसाबमा कैयौं पालाहरु बितिसकेका छन् । अहिले जस्ता धनाढ्य त्यति बेला पनि अबस्य थिए । ती मान्छे पनि सधैं कमाउनमा नै तल्लिन हुदाहुदै यस धर्तीबाट बिदा लिएका अबस्य हुन् । बढी बाँच्नेहरु सय बर्षको हाराहारीमा रहे होलान् । कस्ौले पनि यस धर्तीलाई आफ्नो पेवा बनाउन सक्ने अवस्था किमार्थ आएन र आाउदैन पनि । को को कस्ता कस्ता मानिसहरुले आफूलाई सर्वमान्य ठाने होलान् ।कति मानिसले धनको घमण्ड गर्दै अरुलाई मान्छेको दायरामा राखेनन् होला । कतिले अरुलाई पिल्स्याएर आफू राजगर्दै बिषालु साँप झैं फँडा फिजाए होलान् ।कसैले ब्रह्मलुट गरी अकुत संपति थुपारेर सालीका तीन पुस्ता र फुपूका सात पुस्तालाई पुग्ने संपति कमाए होलान् । तर आज त्यसको के अर्थ छ र ! तिनका सन्तती पनि आज सडकमा नै हुन सक्छन् । फेरि त्यति मरिहत्य हालेर शरीर सुकाउनेहरु पनि आखिर यस धर्तीमा त छैनन् । आखिर हुने त केही रहेनछ । मान्छेको चोला एक पटक आउछ फेरि आउन पाइने अबस्य होइन । यो कुरा सबैलाई थाह हुदाहुदै किन कमाउनका निम्ति मरिहत्य हाल्नु । खै समाजको यथार्थता बुझ्न सकेको मान्छेले ? कहिले सद्बुद्धि पलाएर संपूर्ण मानिसको मुहार हँसिलो हुने दिन आउला खै ? गम्भिर भएर सबैले एक पटक त्यतातिर सोच्ने पनि हो कि ?
समाज बिभिन्न जातजातिको फूलबारी हो । यस फूलबारीमा असंख्य बिभिन्न थरीका फूलहरु फुलिरहेका छन् । त्यसको मालीका रुपमा मानिस खटिएको छ । मालीले बगान कस्तो बनाउने, कसरी आकर्षक र स्तरीय बनाउने भन्ने सकारात्मक सोच राख्नुपर्छ नै । जब माली खराब हुन्छ, तब फूलबारीको अस्तित्व गुमेर जान्छ । त्यसलाई राम्रो बनाउन माली अहोरात्र खटेर मलजल, स्याहारसंहार गोडमेल गर्नु नितान्त आबश्यक हुन जान्छ । तसर्थ मालीको उचित छनौटका साथै सुपरीवेक्षण गर्दै लगिनु पर्छ । सबै फूलहरुलाई विकसित हुने समान अवसर दिन सकेमा मात्र फूलबारीले शोभा दिनुका साथै आयमा बढोत्तरी, वातावरणको उचित समायोजन हुन गई स्तरीय उद्यान बन्न सफल हुन्छ । त्यस फूलबारीमा रहेका प्रत्यक फूलले उचित बातबवरण पाई समानता र नैसर्गिक अधिकारको प्रत्याभूति गर्न पुग्छन् । सुनगाभाले जस्तो अवसर पाउछ , त्यस्तै अवसर सयपत्रीले पनि पाइरहेको हुन्छ । यसो भएमा मात्र स्वतन्त्रता र सहअस्तित्वको संरक्षण हुनगई ’समान उपभोगको अवसरको सुनिष्चितता हुन पुग्छ । यही ब्यबहारको अनुसरण मान्छेले किन गर्न सकिरहेको छैन ? जीवन त छोटो छ, सबैलाई थाहै छ । यस जीवनमा भएगरेका कुराहरु यही जीवन छहुञ्जेल मात्र हो । आखिर सबै मान्छे एउटै हुन् । सबैका मानवीयता, सोच, सुरु र अन्त्य, बनोट , आहारबिहार सबै एउटै हुन् । त्यसैले सबै मानवहरुले छोटो चोलालाई सार्थक र आकर्षक साथै जनप्रिय बनाउनका निम्ति असल ब्यक्तिको ब्यबहार चरितार्थ गर्न अपरिहार्य हुन्छ । समतारुपी समाजको स्थापनाबाट मात्र मानव कल्याण हुन जाने हुनाले सबैले आजैदेखि ब्यक्तिगत स्वार्थलाई त्यागी सामुहिक हितमा लाग्ने प्रण गरौं । ‘म र मेरो’ उत्थानलाई भन्दा ‘हामी र हाम्रो’ भनेर त्यसको उत्थान र विकास गर्दै “सर्व हितायः सर्वमंगलमः्” को अभियानमा सम्लग्न होऔं । यसैमा मानव चोलाको अस्तित्व अडेको छ । यसैबाट मात्र मानव कल्याण हुन जान्छ ।
No comments:
Post a Comment