लघुकथा
दसैँ
- भरतमणि भट्टराई
च्यान्टे असाध्य मेहनती थियो । उद्योगमा काम गरेर परिवार पालेको थियो । दुई छोरा र तीन छोरीकी आमा बनेकी सुन्तली श्रीमानको दुःख र हैसियत बुझ्न नसकेर हरेक कुरामा च्यान्टेलाई खुनसिरहन्थी । दसैँ नजिकै आइरहेको थियो । छिमेकीहरूको औकात बढी भएकाले दौँतरीहरू नयाँ कपडा र गहनाले सजिएका थिए । केटाकेटीहरू पनि उसरी नै रमाएका थिए छिमेकीका । घरमा खसी ढाल्ने र मिठो खाने चहलपहल थियो चारैतिर । यो परिस्थिति नजिकबाट हेरिरहेकी सुन्तलीले अहिले जसरी पनि नयाँ साडी र कान-गलामा साना भए पनि गहना लगाउन श्रीमानलाई पिरल्ने ठानी । काममा गएको च्यान्टे त्यसै दिन खानाको जोहो गर्नका लागि अर्को काममा गएकाले ज्यादै ढिलो आयो । ऊ आउँदा सुन्तली सुतिसकेकी र भोलिपल्ट बिहान सबेरै काममा च्यान्टे गएकाले मनका कुरा पोख्नै पाइन सुन्तलीले ।
च्यान्टे जेनतेन परिवारलाई दसैँ मनाउन सजिलो पार्नका लागि बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म जोतिएको थियो काममा । काम गर्दागर्दै त्यो दिन उसलाई रिङ्गटा लागेर लडेपछि काम दिने साहुले उठायो र केही पैसा उपचारका लागि भनेर हातमा थमायो । दुई दिनको ज्याला दिएर उसलाई घरमा नै आराम गर्न भन्यो । चिसो पानीले मुख धोएर केही तातो खानेकुरा साथीहरूले खुवाएपछि ऊ जस्ताको त्यस्तै भयो । उसले खाना नखाएकाले नातागतका कारण यो परिस्थिति आइपरेको कुरा च्यान्टेलाई थाहा थियो । केही समयपछि ऊ बेलैमा घरतिर लाग्यो ।
घरमा पुग्दा सुन्तली रिसले फुलेर बसेकी, बोल्न पनि चाहिन । च्यान्टेले सम्झाउँदै गरेपछि वास्तविकता खुल्यो । सबैलाई नयाँ कपडा‚ आफूलाई साडी र गलामा सिक्री‚ दसैँका लागि खसी । अरू पनि माग पूरा नगरेसम्म सुन्तलीलाई खुसी बनाउन नसकिने भयो उसलाई । ज्यादै पीरमा परेको च्यान्टे पसले साहुकहाँ गएर घरघडेरी बेचेर पैसा ल्यायो र सुन्तलीका सबै चाहना पूरा गराइदियो । खसी र केटाकेटीका लागि चाहिने कुराहरू ल्याइदिँदा सबै खुसी भए । सुन्तलीको खुसीले सीमा नाघ्यो ।
सुन्तली नयाँ कपडा र गहनामा सजिएकी थिई । केटाकेटीहरू पनि रमाएका थिए । खसी काट्नका लागि पानी तताइराखिएको थियो । त्यसै बेला पसले साहु तमसुक बनाउन आइपुग्यो । तमसुकमा सहीछाप गरेपछि एक महिनापछि घर छाड्न भन्यो च्यान्टेलाई । यी सबै कुरा सुनिरहेकी सुन्तली छाँगाबाट खसे झैं खङ्ग्रङ्गै भई । ऊ रूँदै च्यान्टेको पाउ समातेर भनी‚ “तपाई महान् हुनुहुँदो रहेछ । म यो गहना र लुगा लगाउँदिनँ । खसी पनि चाहिँदैन हामीलाई । सबै फर्काइदिनुस् । साहुबा ! गरिबलाई दया गरेर हजुरले पैसा फिर्ता लिइदिनुस् । यहाँबाट घरबास नउठाइदिनुस् हजुर ! ” सुन्तली साहुको पाउ परेर रोई । उसको पीडा देखेर साहुले वचन दियो र सबै कुरा फिर्ता गरे । घाँटी हेरेर हाड निल्ने प्रयत्न गर्दै च्यान्टे र परिवारले दसैँ मनाए ।
No comments:
Post a Comment