छुद्रता लेख - bharatmani bhattarai

नयाँ सामग्री



छुद्रता लेख

 


                    छुद्रता

मान्छे गुमाउन चाहदैन । उसलाई आवश्यकताभन्दा बढी सञ्चय गरी बिलासी बन्न मन लाग्छ । आफूसँग जे छ त्यो अर्काकोमा पाइयोभने पनि थुपार्नमा पासो लगाउँछ । नभएको कुरामा त झन चर्चा गर्नु नै परेन । बाहिर कतै कसैकोमा नजरले भेटेसम्मका वस्तुहरू आफ्नो बसमा सजाएर रमाउन मजा मान्छ मान्छे । त्यसका लागि ढाँट छल र अनाबश्यक कृतिमता बुनेर अन्यहरूका आँखामा छारो बर्साउन उद्दत रहन्छ । आफ्नो बुताले अप्राप्य वस्तुमा अझ गिध्देदृष्टि लगाउनु छुद्रताको मूल विशेषता नै मान्दा फरक पर्दैन । कोही कसैले अर्काको सहयोगका लागि अर्पण गरेको वस्तु वा जिन्सी वा नगद जे भए पनि आफ्नै खल्तीको खुस्काउन परेझैं गरी पीरले तोला मासु घटाइरहेको हुन्छ । त्यसमा पनि चुकनी झिक्नु आजको महामानवको मूल कर्म नै हो । सकेसम्म आफू अर्काले पसिना सिँचेको सञ्चितिबाट ऐश लिन खोज्नु र अर्कालाई दासको शीकार बनाई आफ्नो हैकम बलियो बनाउन चाहन्छ आजको मान्छे । अर्काकोमा अलिकति पनि राम्रो भएको देख्न नचाहनेले भलोको त कुरै नगर्दा हुने भयो । चामलमा बिँया खोजेझैँ उपकारी पाउनु मुस्किल हुन्छ । समाज उत्थान र परिवर्तन त अधोगतिमा लतारिन पुग्ने भएपश्चात आशा आकाशको जुन हुने नै भयो । लेखनाथ पौडेलको “मै खाउँ मै लाउँ” कविता झैँ ज्यादै लुब्धताको दलदलमा फँसेको छ मान्छे । हिजोदेखिको परम्परा बाजे बाबु र अहिले आफूसम्म आएपुग्दा पनि फेरिने कहिले ? फेरिनको लागि स्वच्छता र पवित्रता अनि सत्कर्म र स्वधर्ममा अडिग हुनु अनिवार्य हुन्छ । सेतोलाई रातो र कालोलाई सेतो भन्नका लागि त्याग र समर्पणको अपरिहार्यता हुन आउँछ । एकछिनका लागि छली मुकुण्डोको कुरबाट बाहिर ननिस्किएपछि सबैलाई कुहिराका काग बनाई दुबै हातमा लड्डू पार्न सकिने भयो । किन दहन नगर्नु गुलियो महमा अनि किन प्रभुल्लित नहुनु बिना परिश्रमको खावा खिर खान पाउँदा । रसस्वादन मूल धर्म नै हो कुण्ठित मानवको ।

आफ्नो हात माथि बनाउन नरुचाउनेहरू पाउनका लागि हात माथि गर्न डराउँछन् तर अनयास आफ्नो मूठ्ठीमा सानो वस्तु मिल्योभने ज्यान गए पनि अर्कालाई दिन सक्दैनन् चाहे त्यो वस्तु अर्काकै किन नहोस् । सही कुरालाई प्रमाण जुटाउँदा पनि विश्वाशको अभाव खड्कन गई असैह्य तापयुक्त ज्वालाको राफ सहनुपर्छ । शरीर मृत्युको दोसाँधबाट पार गराई आपतकालीन अवतरण गराइदिँदाको मूल्यको कुनै कदर गरिदैन । सहयोगीको त्याग र समर्पणको कुनै अर्थ नै राखिदैन । घटनास्लदेखि हस्पिटलसम्म र दिनहुँको सेवा र उपचारका क्रममा गरिएको दौडधुप त्यस्तै स्याहारसुसार र कैयौँ दिनका सास्ति एवम् तनावलाई रत्तिभर ख्यालै गरिदैन । तर कसैले त्यही शन्दर्भमा गरिएका चारओटा नोटको हिसाव गरेर सञ्चो भएपछि फसौट मागिन्छ । एकैछिन सट्टा सुसारे राखेर अपर्झट काममा सरिक हुनुपर्दा भएको डिस्चार्जबाट कुलेलम बजाउन पल्केका ब्वासारुपी दरिद्रहरूलाई कसरी चिन्न सकिन्छ र ! समय सधैँ एकैनास रहदैन । दिनपछिरात र रातपछि दिन आइनै रहन्छ । तर दरिद्रताले ग्रसित भएपछि मान्छे षड्न र दुर्गन्धित भै नाक नै ङ्याच्च बनाएर कहिल्यै नचाहिने गरी निधारसम्म तान्न अग्रता खोज्दै जादोरहेछ । नपरुञ्जेल पत्तो नपाए पनि दहमा डुब्न बाध्य भए पछि बल्ल असली छुद्रतालाई निचोर्न सकिदो रहेछ ।

“जुन थालमा खायो त्यही थालमा फोहोर्‍याउने” मति बिग्रेकाहरुले गति लिन सक्दैनन् । आफ्ना लागि ज्यान दिन पछि नपरेका पवित्र आत्माप्रति सदाशयतासम्म पनि राख्न नसक्ने बिलाहारी तक्षकहरू कि भक्षक भई परात्मा चिन्न नसकेर रमाएका होलान भन्ने कुरालाई सम्झदा अचम्म लाग्दछ । सहनु पनि त सीमा हुन्छ । भरिएपछि पोखिनु पर्ने यथार्थतालाई मान्छेहरू किन नबुझेर असत्यको बाटो गएहोलान भन्ने कुराले सताउने गर्छ तापनि कही कतै सुधारको स्थिति पाउन कसै सकिदैन । आफ्नोमा सानो खति भएकोमा मुर्छा खाएको मान्छे अर्काकोमा बज्रपात भएको बेलामा किन्चित दुःखको भाव देखाउनुको साटो उमङ्गको छालमा रमाएको देखिन्छ । घटना उही तर परिबेश फरकहँदा मान्छेका व्यवहारहरूमा समानता पाउन सकिदैन । जन्मदै नकारात्मकता लिएर त आएको होइन तर किन यस्तो छुद्रता रहन गयो उसको मानसिकतामा छक्क कसरी नपर्नु । यो र यस्ता आचरणको अग्रसरता भएबाट नै मानवीय चरित्रमा दाग लागी सभ्य भै सही धरातलमा उभिन कठिन भएको हो ।

लोभको भाडो कहिल्यै भरिन सक्दो रहेनछ । आफूसँग प्रसस्तै भएको सामान पनि सित्तैमा पाउदा सक्दो बोक्ने प्रबृति समाजमा छ्यालब्याल देखिन्छ । जुन वस्तु वा सामान आफ्नो जीवनका लागि उपयोगी छैन र पनि थुपारेर ढाँड बनाएर फोहर पालिराख्ने प्रायः सबैजसोकोमा देखिन्छ । घरमा अल्झन भएको तर अरूका लागि उपयोगी भए पनि दिन सक्दैन मान्छे । कोही कसैले नदेखेमा सबै आफ्नो बनाउनका लागि मरिहत्ते गर्दछ । छोरी बुहारी तथा चेलीहरूमा समानताको भाव राख्न नसकी पशुत्वभन्दा पनि तल्लो पङ्तिमा गिर्न डराउँदैन । उपकारको सट्टा खोजी अर्कालाई गोगनले झैँ डस्नपुग्छ । बोलाइ र गराइका बीच आकाश र जमिनको भिन्नता स्पष्ट देखिन्छ व्यवहारमा । जुन चिजले आफूलाई असर पुर्‍याउँछ तर त्यो चिज सित्तैमा मिलेको छ यदिभने घाँटीसम्म आउने गरी कोच्न पछि पर्दैन । आफ्नोमा कोही आउँदा १०४ डिग्रीको ज्वरोले टाउको दुखेर १० किलोको भुत्ते धङ्नोले नभ्याउने हुन्छ तर अर्काकोमा आफू पाहुना हुनपर्दा खावा खीर तथा मिष्ठान्नको अपेक्षा गरी भएभरको नालीबेलीमा गफ सिँगारिन्छ । अर्काको प्रगतिमा ओडाहले भुतुक्क हुने र आफ्नो बिगुल बज्दा अर्कोलाई थाहसम्म पनि नदिने छुद्रताले डेरा जमाउन छाड्दैन मान्छेलाई । यस किसिमको अनर्थ परिबेश र काइते छदमभेषी रनकले गर्दा व्यक्तिको आचरण बिग्न गई समाजले सही मार्ग पैल्याउन नसकेको हो । समाज सुन्दर नभएसम्म क्षेत्र र समग्र देश राम्रो बन्न सक्दैन । अतः सबैले नक्कली व्यवहारलाई त्यागी सक्कली सत्कर्ममा लागेर छुद्रता नराखी स्वावलम्वी बन्दै सेवात्मक भावले सकारात्मक शैलीमा अवतरण हुनु जरूरी छ र समग्रतामा उन्नतिको पथमा निरन्तर जुट्न मनैदेखि लाग्नु पर्दछ । अन्यथा विकास असम्भब हुन्छभन्दा फरक पर्दैन ।

१८ फागुन २०८२     मिलनटोल पोखरा ।

 

 

 

 

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here