‘बस्तुको मूल्य’
—३० बैशाख २०८१
एक दम्पती बाटोमा हिडिरहेका थिए । बाटोको छेवैमा एउटा घडी देखेर श्रीमानले
टिप्यो ।उसले श्रीमतीलाई देखाएर भन्यो कति राम्रो हो यो घडी ? हेर त । पुलुक्क
श्रीमानतिर हेर्दै; ‘’छी ᴉ कसैले काम नदिने भएर फालेको होला ? बाटोमा जे पायो त्यही
लिने ? फ्याँकिदेऊ‘’ इजतिलो पाराले
श्रीमतीले भनी । हेर्दा घडी राम्रै भएकोले कसैले खसालेको हो कि ? दिन पाए हुन्थ्यो
ठानी सबैतिर हेर्यो श्रीमान्ले तर त्यो बजारमा संभव नै थिएन । घर आएपछि फेरि
त्यसलाई हेर्दा श्रीमतीलाई राम्रो लाग्यो त्यो घडी । ‘’लेडिज होला कि जेन्स ?’’ श्रीमतीले सोधी । उसको मन पनि लोभियो घडीप्रति । ‘कति पर्ला ?’ यो र यस्तै अनेकौं जिज्ञाशाहरु आए । आमाले त्यो घडी छोरीलाई देखाई । ‘’कस्को हो यस्तो राम्रो ? यो त मूल्यवान घडी हो, लाख वरिपरिको ।‘’ त्यस घडीको मूल्य सर्च गरेर हेरियो, तब त्यो मूल्यवान ठहरियो । छोरीले मन पराएकिले उसैले लगाउने भई तर समस्या पर्यो
लेडिज हो या जेन्स् ।
पसलेकोमा घडीको आकृति फोटो पठाएर छोरीले बुझ्दा जेन्स् भएपछि छोरीका लागि
त्यसको मूल्य शुन्यमा झर्यो । फेरि त्यो घडीका बारेमा छोरीका आफन्तलाई बताएपछि
उसले मूल्य तिरेरै भएपनि लिने कुरा गरे । मूल्य आकासियो । सित्तैमा सोच्दैनसोचेको
पैसा आउने भएपछि श्रीमान् श्रीमती अति खुशी भए । पछि जुवाइँसम्म कुरा पुगेपछि त्यो
घडी उसैलाई मन परेकाले आफैले लगाउने भए । फेरि घडीको मूल्य उचालियो । जुवाइँलाइ
मूल्यवान घडी उपहार दिन पाउनु त्यो पनि सित्तैमा । मन हर्षित भयो उनीहरूको ।
बाहिर गएको छोरा केही समयपछि घरमा आयो । पढेलेखेको र बस्तुको बस्तुस्थिति
पहिचान गर्नसक्ने क्षमता भएकाले उनीहरुले घडीका बारेमा सबै कुरा उसलाई सुनाए ।
उसले घडी हेरेर खिस्स हास्दै भन्यो, “यो घडी त डूब्लिकेट हो ।
फूटपाथमा दुईचार सयमा किन्न पाइएला ।‘’ यो सुनेर सबैको मन खङ्ग्याङ्ग भयो । घडीको मूल्य छिनभरमा नै शुन्यमा झर्यो ।
कस्तो अचम्म आखिर कसैले प्रचार नगर्दा कोठामा नै रहेको उही घडीको मूल्य कहिले
आकासिने र कहिले शुन्यमा झर्ने कसरी हुन पुग्यो ? श्रीमानश्रीमती
दङ्ग परी
मुखामुख गरीरहे ।
No comments:
Post a Comment