फर्क आऊ सजाउन
पैलै धरती टेकेको बिर्सिदैन कदाचित
पवित्र देन ईशको मित्रता जननीसित
प्राण वायु जलथल त्यसैका बीचमा रही
वाल्यकाल बितेको हो त्यसैको रसमा भिजी
सँगीसखा रमाएको वनपाखा गाउँबेशी
पढ्नलेख्न सिकाएको स्कुल मात्र समाबेसी
गाईवस्तु घासपात जङ्गल दाउरा लिन
जानुपर्ने मेलापात गोठालो बिदाका दिन
काफल कटुस् ऐसेलु आँप तिजु बेलाउती
धोबिनी चपाएपछि जिब्रो रक्ततुल्य परिणति
खनायो र बनतरी गोलकाक्रो बन्का फल
अमला खाएपछि हुन्थ्यो स्वादिष्ट मूलको जल
केरा नास्पति मेवा कटहर् नै मिठो अति
लिचि सुन्तला मौसम खान मिल्थ्यो भनेजति
आफ्नोमा नभए पनि बाँडेरै दिने र लिने
औधी राम्रो सौहार्दता कसैगरी नबिर्सने
सुबास्नाले भरिएर खाना बन्छ पौरखको
कति मीठो मित्रता त्यो एश्वर्यपूर्ण गौरबको
ढिडो रोटी दाल चट्नी थोरै भात ओलन्सित
मासु लट्टे खिर रोटी पाक्ने गर्थ्यो सबैतिर
नयाँ लुगा फेर्ने मौका चाड डुलो दशै हुन्थ्यो
आशिष् टीका जमराले ह्रृदयको चुली छुन्थ्यो
रीसराग क्लेश द्वेश फाली मन शुद्ध गर्दै
जोआउँछन् सबै आफ्ना मान्ने पर्व खुशी भर्दै
मासिक् पर्व मिष्टान्नको नपर्ने मैनै हुदैन
पवित्रता द्रभिभूत् हुन्थ्यो दुख्खले छुदैछुदैन
आफ्नो गुमाएरै सेवा मन् जाग्दथ्यो उन्नतिमा
बग्थ्यो अमूल्य पसिना सब् लाग्दथ्यो सन्ततिमा
आज जे जति छ सबै यसैको पवित्र दान
उपार्जन जे जति भो ती उच्च अमूल्य ज्ञान
पाइन्न यस्तो देवता पाउन पो को सक्दछ
फर्क आऊ सजाउन पवित्र भूमि बन्दछ
रोएकी छन्आमा नित्य घरनै अँध्यारो भयो
जति आर्जन गरे पनि अज्ञानी कुपुत्र भयो
सृष्टिकर्ता ईशमाता भुल्न पो कसरी सक्यौ ?
अर्काको पाउको धुलो शीरमा कसरी लग्यौ ?
फर्काऊ सन्ततिलाई नबेच्नु है स्वभिमान
धर्म कर्म रीति स्थिति बहुमूल्य आत्मज्ञान
पुर्खाको हुन् आफ्नो को हो? मनैलेगुन्नुपर्दछ
आदिदेखि अन्य ज्ञान जन्जन्ले पढ्नुपर्दछ
पाइदैन अन्त कतै अलौकिक प्रतिष्ठा नै
धन मात्र ठूलो ठानी बेच्न हुन्न इमान नै
धनदौलत् गगन्चुम्बी ह्रृदय चिन्दैन कोही
राष्ट्रियताको मुल्मर्म विवेक जान्दैन कोही
उमेरमा कमाउन हुन्छ जता जान पनि
राम्रै हुन्छ धनार्जन विध्यार्जन गर्दा पनि
कसै बस्न हुदैन कोही अस्तित्व मेटिने गरी
आऊ सजाऊ मायाले भूस्वर्ग चिनिने गरी

No comments:
Post a Comment