तत्वज्ञान लेख - bharatmani bhattarai

नयाँ सामग्री



तत्वज्ञान लेख

 

 

                           तत्वज्ञान

 


शाररिक शुध्दताले मानसिक सबलीकरणमा सहयोग गर्दछ । दृष्टिगत सफेदताभन्दा मनमस्तिष्क पवित्र हुन सके शान्तिको नजिक पुगिन्छ । बचन उपदेश र देखाइले मात्र शान्ति दिन सक्दैन । बास्तविकता र तत्वबोधको ज्ञानले ह्रृदयमा अमिट छाप नराखेसम्म सत्व चिन्न असम्भब प्रायः हुन्छ । शुन्यमा समाधिस्थ रही एकाग्रतामा लिन अभ्यास र कर्तव्य पथले सुमार्ग चयनपश्चात प्राप्त परिणतिले शक्ति आमन्त्रण हुन्छ । यसका निम्ति योग ध्यान र आत्म शुध्दिको अपरिहार्यता रहन्छ । धैर्य नविन सोच र जागरणले सामर्थ्यलाई उजागर गराउँछन् । लोभ इर्ष्या क्रोध र मायालाई आफ्नो बशमा राख्न नसक्दा शान्ति दूर हुन गएको वास्तविकता छर्लङ्ग भएको छ ।

विश्वमा अवतरित प्रायः सम्पूर्ण अबयवहरू अस्थायी नै हुन् । चीरस्थायी र अटलभोगी स्वप्नध्यान मात्र हो । सृष्टिले नै अन्त्यको विजारोपण गरिसकेको हुन्छ । बिगतदेखि वर्तमानसम्म बरिबहन चक्रले अनगिन्ति छलाङ दौडाइसक्यो । लेखाजोखाको सञ्चिति सायद प्रकृतिमा अदृश्य भै छिपेका भए मात्र अन्यथा अप्राप्य नै हुन्छ । दुःख पीडा हर्ष आश्चर्यता घमण्ड जस्ता संवेग क्षणिक प्रवाहित छनक मात्र हुन् । घटनाको पुञ्जबाट नै समय बिस्तारको समग्रता हो । जीव र जगतका आन्तरिक परिबहन धरा रहेसम्मका लागि महत्वलाई बोध गराउँछन् । अक्ष र कक्षको परिक्रमासँगै जीव तथा अन्य प्रादुर्भावी वस्तुहरूको उदय र बिलयको परिबहन रोकिदैन । अस्तित्व बोकेका सृष्टिगत धराका उपहारहरू चलाइ भोगाइ र आचरणबाट स्थायित्वको समुचित लम्वाइ किटानी गर्दछ । स्वतन्त्रताको महाअभियानका अनुयायी यात्रा परिभ्रमणलाई स्वकर्म पध्दतिले निर्देशित गरेको हुन्छ ।

सृष्टिपछिको बृध्दि र विकासले झ्यङ्गिने मौलाउने र पकड मजभूत गराउने जीव जगतको मूल मर्म नै हो । समयसापेक्ष परिबहनमा सयल गरी अन्तयमा बिसर्जनको स्थिति भोग्नु बिधिको बिधान नै हो । गुमेकोमा अट्टाहस पीडाबोध र प्राप्तिमा हर्ष उमङ्गमा अतिरञ्जित तरङ्गमा बेजोडको सुसेली खेल्नु त्यति उपयुक्त हुदैन । आत्माभन्दा परात्माप्रति समर्पित हुँदा शान्तिले स्वाश फेर्न सहज बनाउँछ । अपरिवर्ति अपरिमार्जित र अदृश्यमा घुसेको दायरालाई मिच्न र अपहेलना गर्ने सामर्थ्य कसैलाई छैन । वास्तविकताको बोध गर्दै कुशल आचरण र सत्मार्ग समाउन सफल हुन सक्नु महानता हो र यसले जीवन र जगतको वास्तविकताको बोध गराउँदछ । सुकर्म र योग साधनाका साथै ध्यानयुक्त अभ्यासले शान्ति दिने र शान्तिको प्राप्तिले सन्तुष्टि मिल्ने हुन्छ । यसलाई ह्रृदयङ्गम गरी परिवहन गर्न सिक्नु नै जीवन चक्रको मूल सार हो । अस्तु ।

 

२० फागुन २०८२

मिलनटोल पोखरा  ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here